FAQs Complain Problems

संक्षिप्त परिचय

नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णय वमाेजिम ७२ वटा नगरपालिका घोषणाका क्रममा यस भोजपुर नगरपालिकाको गठन गरिएकोमा वि.सं. २०७१ ज्येष्ठ २ गतेदेखि विधिवत रुपमा आफ्नो कार्यसन्चालन तथा व्यवस्थापन गर्दै आएकोछ । भोजपुर नगरपालिका नेपालको १ नं. प्रदेश अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलका ६ जिल्ला मध्ये  भोजपुर जिल्लाको सदरमुकाममा रहेको छ । यो नगर भौगोलिक हिसावले मध्य पहाडी भेकमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेका छ । यस नगरपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । स्थानीय बोलिचालीको भाषामा अझै पनि यस क्षेत्रलाई पूर्व ४ नं नै भन्ने गरेको सुन्न पाइन्छ । भौगोलिक विविधतायुक्त यस नगर क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । नेपाल एकीकरण अभियान पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक केन्द्रका रुपमा चयन गरिएको इतिहास छ भने वि.सं.१८७२ सालमा  यसै नगर क्षेत्रको टक्सार बजारमा नेपालभर आवश्यक पर्ने डोली पैसाका नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने काम भएकोले सो वजारको नाम नै टक्सार रहन गएको छ जुन बजार हाल यसै नगर क्षेत्रमा पर्दछ । मध्ये पहाडी राजमार्गले छाेएकाे हुँदा नेपालको राजधानीसम्म अावागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका  पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ । नगर क्षेत्रबाट पश्चिम तर्फ रहेको टयाम्के र सेल्मे डाँडो, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडाले भोजपुर नगरमा पर्यटकहरुलाई कम्तिमा एक पटक भोजपुर भ्रमणका लागि निम्तो दिइरहे झैं लाग्छ । यसैगरी यस नगरपालिकाको वडा नं ३ स्थित सुन्तले वजार र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा विश्वकै गहिराे अरुण उपत्यकाको उत्तिनै महनमोहक दृश्य हेर्न सकिन्छ भने नगरको मध्यभागमा रहेको सिकद्धकालीको मन्दिर रहेको छ जसको दर्शन गर्नाले आफ्ना मनोकांक्षा सिद्ध हुन्छ भन्ने जनविश्वास रहेको छ ।  टक्सार बजार भित्रका पाटी पौवा देवी देवताका मन्दिरहरु धार्मिक हिसावले  उत्तिकै महत्वपूर्ण रहेकाछन् । पेशागत वस्तु उत्पादनका हिसावले यहाँको खुकुरी विश्वमै प्रख्यात रहको छ भने करुवा, तामाका भाडाकुँडा तथा सुन्तला उत्पादनमा पनि यो जिल्ला नेपालकै अग्रस्थानमा रहेका छ जुन क्षेत्रहरु यसै नगरपालिका तथा आसपासका गाविसहरु पर्दछन् । यस नगरको सामाजिक संरचनाका हिसाबले मिश्रित बस्ती, पितृसतात्मक परिवार, हिन्दु धर्मावलम्वीहरुको बाहुल्यता, एकल परिवार, अधिकांश समुदाय कृषिमा आश्रित रहेकाछन् । भोजपुर र टक्सार बजार वाहेक अन्य स्थानका बस्तिहरु छरिएर रहेका छन् । यस नगरको बस्ति (settlement pattern) छरिएर रहेका कारण विकासका पूर्वाधारहरु समान रुपले लैजान उत्तिकै चुनौतिकारुपमा रहेको छ । यो नगर आफैंमा सम्भावना र अवसरको रुपमा रहेको छ भने चुनौतिहरु पनि त्यतिकै बग्रेल्ती रहेका छन् । यस नगरपालिकाको भौगोलिक अवस्तिी, नामाकरण तथा अन्य संक्षिप्त विवरण देहाय वमोजिम रहेका छन् ।
भौगोलिक अवस्थिती 
अवस्थिती  अक्षांश  २८ डिग्री ५३‘   देखि  २७ डिग्री ४६‘     उत्तर सम्म
देशान्तर - ८६ डिग्री ५३‘  देखि  ८७ड डिग्री १७‘     पूर्व सम्म
सीमाना -   पूर्व - आम्तेक र श्यामशिला गा.वि.स
पश्चिम - कोट र  दलगाउँ गा.वि.स
उत्तर - हेलौंछा र सिद्धेश्वर गा.वि.स
दक्षिणः मानेभन्ज्याङ्ग र बास्तिम गा.वि.स
उचाइ  -समुद्र सतहबाट १५४० मिटर उचाईमा रहेको छ ।
क्षेत्रफल  -  ६८.४ वर्ग कि.मि. ( ६८४० हेक्टर)
लम्वाइ  - सरदर              कि.मि.
हावापानी - समशिताेष्ण ।

जनसंख्या -  पुरुष - ८९४५ महिला - ८७९१ कुल जम्मा १७७५६ 
नगरको नामाकरण  नेपालको ७५ जिल्ला मध्ये संघीय प्रदेश नं.१ मा पर्ने भोजपुर जिल्लाको सदरमुकाम स्थित यो नगरपालिकाको नाम यस जिल्लाकै प्रतिनिधित्व गर्नेगरी "भोजपुर नगरपालिका" कै नामबाट नामाकरण भएको छ ।
नगरको प्रशासनिक विभाजन -  प्रशासनिक कामकाजलाई व्यवस्थित गर्दै नगरको शासन व्यवस्थालाई चुस्त छरितो बनाउन यस नगरपालिकालाई एग्याह्र वटा वडाहरुमा विभाजन गरिएको छ । संसदीय निर्वाचन क्षेत्र विभाजनकाका हिसावले भोजपुर जिल्लालाई दुई निर्वाचन क्षेत्र, १३ वटा इलाकामा विभाजन गरिएकोमा यो नगरपालिकाको वडा नं.१, २, ३ र ४ निर्वाचन क्षेत्र नं.१ मा पर्दछ भने वाँकी ७, ८, ९, १० र ११ वडाहरु निर्वाचन क्षेत्र नं. २ मा पर्दछन् ।  इलाका विभाजनका हिसावले यो नगरक्षेत्र इलाका नं. ७ मा पर्दछ ।
नगरका मुख्य नदी, खोलाहरु
खोलाहरु - पूर्वमा अखुवा खोला,पश्चिममा सेरे खोला, पिखुवा खोला, दक्षिणमा पिखुवा खोलाहरु रहेका छन् ।
धार्मिक पर्यटकीय स्थलहरु -

क्र.सं.    धार्मिक स्थलको नाम    स्थान    प्रसिद्धीका कारण
१    सिद्धकाली मन्दिर    वडा नं. ५    पुजाआराधाना गरे चिताएको मनोकामना सिद्ध हुने विश्वास गरिन्छ ।
२    राधाकृष्ण मन्दिर    वडा नं. ५    रमणिय शिखरको कोखमा रहेको ।
३    शाक्यमुनि विहार    वडा नं. १०    नेपालकै पहिलो थेरवादी शाक्यमुनी विहार ।
४    अजीमा मन्दिर    वडा नं. १०    यस मन्दिरको दर्शन गर्नाले विफर तथा अन्य रोग मुक्त हुने जनविश्वास रहेको ।
५    सरस्वती गुफा    वडा नं. १०    वडा नं. ७ मा रहेको सिद्धकाली मन्दिरसम्म जोडिएको भन्ने लोक कथन रहेको ।
६    सुन्तलेडांडा    वडा नं. ३    विश्वकै गहिरो खोँच अरुण उपत्यका, टयाम्के, चखेवा डाँडा अवलोक गर्न सकिने मनमोहक एवं चिसो हावापानी ।
७    सप्तधारा    वडा नं. ७    भोजपुर बजारको मध्य भागमा अविरल बहने धारा ।